न्याय किन असहज……?

इटहरीकी एक किशोरीले आफु १, २ कक्षामा पढ्दा देखि आफ्नै परिवारभित्रका नजिकका आफन्तबाट पटक पटक भएको यौनजन्य हिंसाको बेलीबिस्तार सामाजिक संजालमार्फत सतहमा ल्याएकि छिन् । न्यायको लागि अपिल गर्दै गरेकी किशोरीको आर्तनादले धेरैको मन मष्तिक्स हल्लाएको छ । आरोपीत व्यक्ति पेशाले शिक्षक भएकोले उनका विद्यार्थीले सामाजिक संजालमा दिएको प्रतिक्रिया र व्यक्तित रुपमा गरिने टिका टिप्पणि सुन्दा, कसैले यो मान्छेको कर्तुत खोलेहुन्थ्यो । कोही त बोले हुन्थ्यो । भनेर पर्खिरहेको आभाष हुन्छ । उक्त आरोपीतकि एक पुर्व विद्यार्थीले लगभग १० वर्ष अगाडी स्कुलमा हुदा त्यो सरलाइ हामी बोका सर भन्थ्यौ भनिन् । यसले के स्पष्ट पार्छ भने त्यो व्यक्ति शिक्षक जस्तो सम्मानित पेशाको आवरण भित्र रहेको यौन पिपाशु भन्दा बढि थिएन ।

उक्त व्यक्तिबाट शिक्षणको दौरानमा कति बालिकाले हिंसाको शिकार बन्नुपर्यो होला..? एक असल शिक्षकबाट पाउने मार्गदर्शनको अभावमा कति बालबालिले शैक्षिक क्षति व्यहोर्नुपर्यो होला ..? कति बालिकाले उपयुक्त शैक्षिक वातावरणको अभावमा निस्क्रिय र जिज्ञासाविहिन भएर कक्षाको समय बिताउनु पर्योहोला….? कति बालिकाले ढाड मसारेको सहनुपर्योहोला…? कतिले गाला चिमोटेको सहनु पर्योहोला…..? कतिले असहज हेराइको कारण शिर निहुर्याउनु पर्योहोला….? जसको डर र त्रासमा कति बालिकाको मानसिक र संवेगात्मक क्षयिकरण भयोहोला…..? यि सबै पुर्ताल गर्न नसकिने क्षती हुन ।

विभिन्न अध्ययन अनुसार विश्वका ७० प्रतिशत महिलाले आफ्नो जीवनकालमा शारिरिक तथा यौनजन्य हिंसाको भोग्नु परेको तथ्याङ्ग छ । त्यसैगरि करिब १५ लाख (१५–१९) उमेर समुहका किशोरीहरुले बाध्यात्मक यौन तथा यौनजन्य हिंसाको शिकार बन्नु पर्दछ । तर किन यि घटनाहरु एकदमै नगण्य मात्रामा मात्र बाहिर आउछन् ? बाहिर आएपनि न्यायिक कठघरा सम्म पुग्दैनन….? विश्व स्वास्थ्य संगठनका अनुसार पर्याप्त मात्रामा सहयोगि संयन्त्रको अभाव,संकोच,डर,त्रास,पारिवारिक तथा सामाजिक सम्वन्ध बिग्रने भय,उल्टै आफुमाथि नै आरोप लाग्ने खतरा र सामाजिक वहिस्करणमा परिने डर आदि प्रमुख कारणले गर्दा महिला तथा किशोरिहरु आफुमाथि भएको हिंसा बाहिर ल्याउनका लागि असमर्थ हुन्छन ।

केही गरि हिम्मत बटुलेर घटना बाहिर ल्याएको अवस्थामा पनि पिडित÷प्रभावितमाथि गरिने सामाजिक व्यवहार, न्यायको लागि गरिने सहजिकरण र उक्त अवस्थाको सामान्यिकरणका लागि हुनुपर्ने पारिवारिक भुमिका पिडित÷प्रभावितमैत्रि हुदैन । यस प्रकारको व्यवहारले पिडितमा निराशा मात्र पैदा गर्दैन । थप पिडित बनाउँछ । विभिन्न किसिमको लाञ्छना र आरोप लगाइन्छ । अझ यौजन्य हिंसाको कानुनि लडाइ त्यस्तै जटिल छ । न्याय पाउने आशा एकदमै झिनो छ । यसले हाम्रो न्यायप्रणालिप्रति चरम असन्तुष्टि र आक्रोश उत्पन्न गर्दछ ।

यहि घटनामामा पनि किशोरिले आत्मबलका साथ घटनाक्रम बाहिर ल्याउदा उनका कति परिवारका सदस्यले धन्यवाद दिए……? उनलाइ पढाउने कति शिक्षकहरुले स्याबास तिम्रो साहसलाइ भनेर ढाडस दिए…….? उनका कति साथीभाइ र समकक्षिले तिम्रो साथमा हामी छौ भने…..?

त्यसैगरि उक्त आरोपितलाई कतिले शाहस गरे उसको कर्म र बदनियतको प्रतिफल सम्झाउन…..? कति विद्यार्थिको आँट आयो हामी वर्षौदेखि यहि समयको पर्खाइमा थियौ भन्न……..? परिवारले उसलाई वहिस्करण गर्न सके या सकेनन…..? यो स्वभाविक छ । आरोपित तर्फ फर्कदैनौ हामी । प्रत्यक्ष–अप्रत्यक्ष रुपमा पिडितलाइ भने घटना बाहिर नल्याएको भए हुन्थ्यो । परिवारको बेइजत भयो । अलिकति सहिदिदा के बिग्रन्थ्यो लगायतका दवाब आउँछ । यस्तो अवस्थामा पिडितले चट्टान भएर अडिक रहनुपर्छ । यसको लागि परिवार, साथिभाइ र आफन्तले पिडितको आत्मबल बढाउन सहयोग गर्नु पर्दछ ।

महिला तथा बालिका माथि हुने हिंसा जग जाहेर छ । विभिन्न कारणले बाहिर ल्याउन नसकेका घटनाहरु स्वत स्फुर्त रुपमा मि टू अभियान अन्तर्गत कुनै पनि कानुनि सहयोग,प्रहरी प्रसाशन, संघ संस्था तथा अन्य सहयोगि संयन्त्र बिना बाहिर ल्याउन सकिन्छ । यो एउटा अभियान हो । न्यायको आन्दोलन हो । सामाजिक न्यायको लागि दरिलो अस्त्र हो । कहिले काँहि कानुनि लडाइका लागि हदम्याद तथा अन्य प्रक्रियाको जटिलताले न्याय लगभग मर्दछ । तर यस अभियान अन्तर्गत, पिडकलाई पदच्यूत गर्न सकिने । सामाजिक वहिस्करण गर्न सकिने र भविष्यमा हुने सम्भावित जोखिमप्रति सचेत गर्न सकिने लगायतको वातावरण सृजना गर्न सकिन्छ । यो अभियानले कहिले काँही कानुनि न्याय भन्दा तुलनात्मक रुपमा सामाजिक न्याय प्रत्याभुत गराउनका लागि अहम भुमिका पनि खेलेको हुन्छ भन्दा अत्योक्ति नहोला ।

सम्वन्ध,शक्ति,पद,पैसा आदिको आडमा हुने गरेका यस्ता यौनजन्य हिंसा कहिले सम्म सहने हामीले……? शारिरिक तथा यौनजन्य हिंसाको कारण मानसिक, सामाजिक र संवेगात्मक रुपमा हुने क्षय र पिडित÷प्रभावितकोे व्यक्तित्व विकासमा परेको असरको जिम्मा कस्ले लिन्छ ….? शक्तिको आडभित्रका कुरुप अनहारले परिवार र समाजको दर्विलो आश्रय पाउँछ किन….? अब पनि हामी नबोल्ने …? कानुनले तथ्य र प्रमाण खोज्छ । के यौनजन्य हिंसा शरिरमा लागेका घाउ,चोट र यौनिको छेदनले मात्र पुष्टि गर्छ …? होइन भने न्याय किन असहज छ …? अब पनि हामी नबोल्ने …? कानुनि लडाई संगै सामाजिक न्यायका लागि अब हरेक व्यक्तिले हिंसाको प्रतिरोध गरौं । प्रतिकार गरौं ।

अस्तित्वको लडाई महिलाले आफ्ना लागि लडेको धेरै भयो । विभिन्न कालखण्डमा लड्दै गर्दा आज सम्म केही कानुनी उचाइ हाँसिल गर्यौ त केही सामाजिक र राजनैतिक । तर संरचनागत लडाइको बाटो हाम्रा लागि अझै धेरै असहज छ । जुन महिलाको अमर्यादित ढाड, तीज गित नो ब्रत पिल्ज प्रशारणमा भएको बन्देज लगायतका पछिल्ला घटनाक्रमाले पुष्टि गरेको । मर्यादा, सम्मान र सह अस्तित्वको सुदूर यात्रामा बिभेदको जरो उखेल्ने जिम्मा हामी सबैको हो ।

प्रतिक्रिया

सम्बन्धित