हामीले घाटा र नाफाको नाम नै व्यापार सम्झनु पर्छ
बलराम आचार्य
प्रबन्ध निर्देशक
गोरखा डिपार्टमेन्ट स्टोर इटहरी ,सुनसरी
कोरोना कहरका कारण गोरखा डिपार्टमेन्ट स्टोर लगायत अन्य व्यापार व्यवसायमा परेको असरको बारेमा के भन्नुहुन्छ ?
. अहिले यो अवस्थामा गोरखा डिपार्टमेन्ट स्टोर मात्रै नभएर अन्य सबै संसार नै यो समस्याको चपेटामा परेको छ । गोरखा डिपार्टमेन्ट स्टोर चाहिँ अछुतो नरहने कुरै भएन । त्यसले गर्दा खेरी अहिलेको अवस्थामा व्यापार व्यवसाय भन्दा पनि कसरी बाँच्ने भन्ने नै समस्या भएको छ । सबै क्षेत्रका मानिसहरुलाई ।
अहिलेको अवस्थामा गोरखा डिपार्टमेन्ट स्टोर कसरी सञ्चालन गर्दै हुनुहुन्छ ?
. अहिले हाम्रो सबै ५ ओटा शाखाहरु सञ्चालनमा छन् । धरान, इटहरी, विराटचोक, पथरी र दमक सबैतिरको हालत खराब र समस्या उही छ । अहिले स्टोरमा लगभग १४ सय कर्मचारी कार्यरत हुनुहुन्छ । ५ ओटा शाखा लगायत वेकरी हाउस, गौशाला सबैतिर मिलाएर त्यति हुन्छ ।अहिले व्यापार व्यवसायहरु फरक तरिकाले चलिरहेको अवस्था छ । खाद्यान्न बाहेक अन्य वस्तुहरुको बिक्री भएको छैन । सीमित स्रोत साधनमा बाँच्नु परेको अवस्था रहेको छ । मानिसहरुको खर्च गर्ने क्षमता पनि कम रहेकाले खाद्यान्न बाहेक अन्य बस्तुको कम मात्रामा बिक्री वितरण छ । सेनिटाइजर, मास्क, साबुन आदि मात्र विक्री भइरहेको छ । उदाहरणका रुपमा खाने तेल पनि महिनामा ४ लि। लाग्थ्यो भने अहिले २ लि।ले महिना धानेको अवस्था देखिन्छ ।
अन्य व्यापार व्यवसायीका लागि के सन्देश दिन चाहानु हुन्छ ?
. व्यापारमा घाटा नाफा अहिलेका लागि हेर्ने होइन । हामीले घाटा र नाफाको नाम नै व्यापार सम्झनु पर्छ अहिलेका लागि बाँच्नु नै ठूलो कुरा हो । सुरक्षाका मापदण्ड अपनाएर बाँच्नु पर्ने अवस्था छ । अहिले हामीले सुुरक्षा उपायहरु सकेसम्म अवलम्बन गरेका छौँ । अरुले पनि गर्न जरुरी छ ।
कोरोना कहरको समयमा के कस्ता सुरक्षाका उपायहरु पालना गर्नु भएको छ ?
. अहिले सुरक्षाका लागि हात धुने, हात नधुए सेनिटाइजर प्रयोग गर्ने, मास्क अनिवार्य प्रयोग गरिएको हुन्छ । अनि गरिनु पर्छ पनि । अहिले एउटा मेसिन ल्याएका छौँ । त्यसले एकदिन प्रयोग गरी डिस्इन्फेक्सन गर्नाले ४ दिन सम्म ठाउँ निर्मलीकरण हुन्छ । त्यसरी प्रयोग गरिरहेका छौँ ।
आगामी दिनमा गोरखा डिपार्टमेन्ट स्टोरका के कस्ता योजनाहरु छन् ?
. भोलिको दिनले देखाउने कुरा हो । योजना गर्नु भन्दा पनि अहिले व्यवसायमा अडिने कसरी भन्ने हो । यसैलाई फेस गर्दै जाने । समय अनुकूल अगाडि बढ्नु पर्ला भन्ने कुरा छ । अहिलेको अवस्थामा कसरी सञ्चालन गर्ने, यो हेरेर आगामी दिनको योजना गर्ने हो । यतिको कर्मचारी रहे पनि कसैलाई भगवानको कृपाले कोही कोरोना संक्रमित भएका छैनन् । भोलि के हुन्छ थाहा छैन । हामीसँग भएका कर्मचारीहरुलाई के कसरी सुरक्षित राख्ने भन्ने समस्या छ । अहिले दशै तिहार सकिएको अवस्था छ । दशै तिहार भन्ने कुरा पनि विशेष महत्त्वपूर्ण भएन यो साल त । कोरोना कहरले सबै ओझलमा बनायो । साँच्चै भन्ने हो भने सामान्य दिनमा जस्तो केही पनि भएन । मोटामोटी १०–१५ परसेन्ट वृद्धि भयो होला व्यापार व्यावसायमा । खुसीको कुरा के छ भने नेपालीहरु आफै सचेत हुनु भएको देख्दा चित्त बुझ्दो कुरा छ ।
अहिलेको दिनमा पहिला भन्दा कोरोना कहरको डर त्रास कम भएको हो कि ?
. यो अहिले घटेकै छ । पहिला अर्को देश तथा अन्य जिल्लामा भयो भन्दा पनि डर लाग्थ्यो । त्यतिबेला धेरै त्रसित थियौँ । अहिले त ओल्लो पल्लो घरमा हुँदा पनि डर लागेको छैन । जोसुकै संक्रमित भए ता पनि पहिला त्यता हेर्न डर लाग्थ्यो तर अहिले केही त्यस्तो लाग्दैन । तर कोरोनालाई सामान्य सोचेर हेलचेक्याइ चै गर्नु हुँदैन ।
यहाँको विचारमा कोरोना के हो ? यो कसरी नियन्त्रण हुन्छ जस्तो लाग्छ । यहाँ अग्रज तथा जानकार व्यक्तित्व भएका नाताले के भन्न चाहनुहुन्छ ?
. केही स्वास्थ्यका सामग्रीहरु प्रयोग गर्नु पर्छ । सामाजिक दूरी लगायत विभिन्न सुरक्षाका मापदण्ड अपनाउनु पर्छ । त्यसबाट बच्न सकिने मापदण्डको परिधिभित्र रहेर हामी सुरक्षित हुन सकिन्छ जस्तो लाग्छ ।
यो अप्ठ्यारो स्थितिमा बैंकको ऋण कर्मचारी तलब सुविधा कसरी मिलाउँदै हुनुहुन्छ । कर्मचारीहरुको आर्थिक व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
. हामीले दुई सिफ्टमा काम गर्न लगाएका छौ । आधा समयमा मात्र काम गर्न लगाएका छौँ । कसैलाई कटौती काम गरेनौ । किनभने मानिसले कम्तीमा खान पायो भने बाँच्न त बाँच्छ । बरु कम भए पनि काम ग(यो भने कमसे कम बाँच्न सक्छ भन्ने उद्देश्य राखेका छौ । धन्यवाद ।
प्रस्तुति : मणिराम दाहाल
प्रतिक्रिया