विद्यालयबाट बेपत्ता धादिङका तीन किशोरी पाँच दिनपछि बाग्लुङमा भेटिए
काठमाडौं । धादिङको धादिङबेसीबाट सम्पर्कविहीन भएका तीन जना किशोरी पाँच दिनपछि बाग्लुङमा भेटिएका छन् । नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कक्षा ९ मा पढ्दै गरेका रोशनी विक, सुशीला तामाङ र अस्मिता गुरुङ बाग्लुङमा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रको अनुसार गत बुधबारदेखि सम्पर्कविहीन भएका उनीहरु सोमबार भेटिएका छन् । धादिङको सदरमुकाम धादिङबेशीस्थित निलकण्ठ माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विक बुधबार बिहान विद्यालय जान्छु भनी हिँडेकी थिइन् ।
रोशनी बेलुका घर नफर्किएपछि परिवारले सोधिखोजी सुरु गर्यो । रोशनीका विषयमा सोधिखोजी गर्दा उनीसँगै अन्य दुई बालिका पनि बेपत्ता भएको खुल्यो । तीनै जन कक्षा ९ मा अध्ययनरत हुन् । उनीहरु साउन २३ देखि हराइरहेका थिए । बेपत्ता भएको दिन उनीहरुले आधा दिनसम्म पढेका थिए ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले भने, ‘उनीहरु हराएको रातबाटै खोज्न सुरु गरेका थियौं । खोजीका लागि तीनै बालिकाको फोटोहरू सार्वजनिक गरेका थियौं । बागलुङ प्रहरीले उद्धार गरेको भन्ने जानकारी आयो । बालिकाहरू लिनका आफन्त गएका छन् । यहाँ आइपुगेपछि थप विवरण खुल्न आउला ।’
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय यादवका अनुसार तीन बालिकालाई छुट्टाछुट्टै स्थानबाट उद्धार गरिएको हो । सँगै हराएको भनिएका तीन बालिका बागलुङकै फरक–फरक स्थानमा फेला परेको यादवले जानकारी दिएका छन् । यद्यपि सामान्य सोधपुछका क्रममा ती बालिका सुरुमा काठमाडौँ गएको र पछि बागलुङको बस चढेर बागलुङ गएको भन्ने खुल्न आएको बागलुङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया