शान्ति प्रक्रियामा साथ दिएका राजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नु पर्थ्याे : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने दिन दलहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्मरण नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
आज (बुधबार) प्रतिनिधिसभा बैठकमा लिङ्देनले राजाले राजगद्दी त्यागेर शान्ति प्रक्रियालाई साथ दिएको दाबी गर्दै राजाको योगदान नभुल्न आग्रह गरे । शान्ति प्रक्रियामा योगदान पुर्याएबापत दलहरूले राजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नु पर्थ्याे भन्दै उनले पूर्वाग्रही नबन्न समेत दलका नेताहरूर्लाइ आग्रह गरेका छन् ।
‘शान्ति प्रक्रियाको कुरा गर्दा र हामी एकले अर्कालाई जस दिने, धन्यवाद दिने कुरा गर्दाखेरि म दलहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, जनयुद्ध भन्नुस् विद्रोह भन्नुस्, त्यसको नेतृत्व गर्ने नेता स्वयंले भन्नुभयो– वास्तवमा यो हारजितमा टुंगिएको विद्रोह होइन । यो सम्झौताबाट टुंगिएको हो । त्यो सम्झौताको एउटा पक्ष राजालाई तपाईंहरूले आज सम्झनु पथ्र्यो । राजा जसले राजगद्दी छोड्न तयार भयो र शान्ति प्रक्रियालाई साथ दियो । आज सम्झनुपर्छ, त्यति पूर्वाग्रही बन्नुहुन्न भन्ने ठान्छु म । यो शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि राजाको योगदान छैन ? राजालाई सम्झनुपर्ने होइन ? दलहरूले त राजालाई यो शान्ति प्रक्रियामा योगदान पुर्याएबापत नोबेल पुरस्कारको लागि सिफारिस गर्नु पर्थ्याे’, लिङ्देनले भने ।
प्रतिक्रिया