जसले २० वर्षीया श्रीमतीको हत्या गरे, शव, बञ्चरो र कपडा वनमा गाडे

हेटौँडा । बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको कैलाश गाउँपालिका–५ कालीखोलास्थित काफलडाँडाकी २० वर्षीया लक्ष्मी पाख्रिनको हत्या गरेको आरोपमा २६ वर्षीय मंगलबहादुर पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबहादुरले आइतबार दिउँसो पत्नीलाई बञ्चरो प्रहार गरी हत्या गरेपछि कालीखोला सामुदायिक वनको जंगलमा गाडेका थिए । उनले श्रीमतीका कपडाहरु पनि गाडेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । हत्या गर्न प्रयोग गरिएको बञ्चरोको बीड फुकालेर जंगलमै खाल्टो खनेर पुरेका थिए । छिमेकीले पत्नी घरमा नदेखेपछि मगलबहादुरसँग सोधपुछ गर्ने क्रममा उनले हत्या गरेर गाडेको बताएका थिए ।

स्थानीयले खबर गरेपछि प्रहरीले सोमबार बेलुका मंगलबहादुरलाई नियन्त्रणमा लिएको थियो । सोधपुछ गर्दा उनले प्रहरीसमक्ष श्रीमतीको हत्या गरेर जंगलमा लगि गाडेको स्वीकार गरेका छन् । उनीविरुद्ध जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित