झापाको बिर्तामोडमा याे वर्ष भब्य रथयात्रा मनाइने , हुदैछ यहा सम्मकाे तयारी
बिर्तामोड । झापाको बिर्तामोडमा यस वर्ष पनि श्रीकृष्ण रथयात्रा आयोजना गरिने भएको छ। श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा रथयात्रा निकालिनेछ। अघिल्लो वर्ष पहिलो पटक श्रीकृष्ण रथयात्रा सम्पन्न भएको थियो भने यस वर्ष यसलाई अझै व्यापक र भव्य बनाउन विशेष तयारी गरिएको छ।
श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट, अर्थात् भदौ ११ गते, नन्द उत्सवको अवसरमा रथयात्रा आयोजना गरिने जनाइएकाे छ। श्री बालाजी मन्दिर समितिका अध्यक्ष नवीन गोयलका अनुसार, यस पटकको रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ। भदौ १० गते साझ ६ बजेदेखि राती १२ बजेसम्म विशेष धार्मिक कार्यक्रमहरू, जसमा श्री कृष्ण जन्म, श्री कृष्ण लीला, शिव तांडव, गणेश जीको झांकी, र राधा रानीको झांकी दर्शन गराइनेछन्।
भदौ ११ गते दिउँसो ३ बजेबाट रथयात्रा बालाजी मन्दिरबाट प्रारम्भ हुनेछ र बिर्तामोड बजारको परिक्रमा गरिनेछ। यस संयुक्त रथयात्राको उद्देश्य शान्ति, धर्म रक्षा, समाज र मानव कल्याण रहेको आयोजकहरूको भनाइ छ। रथयात्रालाई सफल बनाउन रथयात्रा समन्वय तथा व्यवस्थापन समिति गठन गरिने योजना पनि बनाइएको छ।
छलफलमा स्थानीय नेताहरू, समाजसेवी, उद्योगी, र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले रथयात्रालाई कसरी सफल बनाउने भन्ने विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए।
प्रतिक्रिया