जाजरकोटका शिक्षक नेपालगञ्जबाट दुई सातादेखि बेपत्ता
कर्णाली । जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहीन भएका छन् । शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालय समाइलामा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुन् । उनी गत साउन १४ गते घरबाट नेपालगञ्ज गएका थिए । साउन २५ गते नेपालगञ्ज बसपार्क गेट नजिक रहेको मीना दैलेखी होटलबाट बेलुका ४ बजे बाहिरिएपछि सम्पर्कमा नआएको घरबाट सँगै हिँडेका आफन्त गोपी सिंहले जानकारी दिए ।
‘साउनमा विद्यालय बिदा भएकाले भारतमा म काम गर्ने मोडर्न फेसन सुपर मार्केटमा केही कपडा तथा सामग्री लिन जाउँ भनेर हामी १७ गते दैलेखी मीना होटलमा पुगेका हौँ । जेठान दाइले जुम्लाबाट ४० हजार पठाउँदै हुनुहुन्छ भनेपछि पर्खिदा धेरै बसाइँ भयो । २५ गते दिनभरि कोठामा सुतेर बेलुका ४ बजे बाहिरिएपछि उहाँ फर्कनु भएको छैन’, सिंहले भने ।
गत साउन २६ गतेसम्म आउँछन् कि भनेर कुरेको बताउँदै धनबहादुर नआएपछि घरमा ससुराबुबा हंसबहादुर शाहीलाई खबर गरेको सिंहले बताए । ससुरा नेपालगञ्जमा आएर खोज्दा नभेटिएपछि आफै निवेदक भएर नेपालगञ्ज जिल्ला प्रहरी कार्यालयमा खोजीदिनका लागि उजुरी हालेको उनले बताए । यही भदौ २ गते नेपालगञ्जबाट जाजरकोट फर्किसकेका सिंहले सम्पर्कविहीन शाहीको खोजीमा सहयोग गरिदिन सबेलाई आग्रह गरे ।
शिक्षक शाहीका बुबा हंसबहादुरले छोरा र ज्वाइँ गोपी सिंह सोही होटेलमा सँगै बसेको तर साउन २५ गते बाहिर गएर आउछु भनेर निस्किएको छोरा नफर्केको खबर पाएपछि आफू त्यही पुगेको बताए । उनले भने, ‘नेपालगञ्ज पुगेर जताततै खोजियो तर उसलाई भेटाउन सकिएन । फोन पनि बन्द छ । खाना खाएको १६ हजार नौ सय पुगेपछि ज्वाइँ गोपी छोरा आउने आशमा त्यही बस्नुभएको रहेछ ।’
होटल धनीलाई पछि तिरौंला भन्ने भाका गरी घर फर्केको पीडित शाहीले दुखेसो पोखे । हराएको धेरै दिनसम्म सम्पर्कमा नआएपछि जतिसक्दो चाँडो खोजी दिन उनले प्रहरी प्रशासनलाई आग्रह गरे । उक्त होटल धनी मीना सुनारले गत साउन १७ गते आफ्नो होटलमा पुगेका दुवै जना १० दिन जति होटलमा बसेका बताए । ‘साउन २५ गते शिक्षक शाही कतिबेला बाहिरिनु भयो थाहा पाएनौँ । उहाँ नफर्केपछि खोजी सुरु गरेका थियौं’, उनले भने, ‘दुवैले यहाँ बस्दा खाएको १६ हजार नौ सय उहाँको बुबा, श्रीमती र बहिनीले पछि तिरौँला भनी नागरिकतालगायत आवश्यक कागजात लिएर घर फर्किनु भएको छ । हराउनु भएका शाहीको आजसम्म कुनै खबर पाएका छैनौं ।’
प्रतिक्रिया